Home Nepal प्रधानमन्त्री ओलीको चेतावनी: युवाहरु भ्रमित भए परिवर्तनको गति सुस्त हुन्छ

प्रधानमन्त्री ओलीको चेतावनी: युवाहरु भ्रमित भए परिवर्तनको गति सुस्त हुन्छ

व्यक्तिको पछि लाग्ने होइन, विचार र नेतृत्वको मूल्याङ्कन गरेर समर्थन गर्नुपर्छ

by Nepal Pulse
0 comments

ललितपुर । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू भ्रममा परेमा देशको परिवर्तन र विकासको गति सुस्त हुने चेतावनी दिएका छन्।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकमा आइतबार बोल्दै उनले युवाहरूलाई विचारको आधारमा अघि बढ्न आग्रह गरे। “व्यक्तिको पछि लाग्ने होइन, विचार र नेतृत्वको मूल्याङ्कन गरेर समर्थन गर्नुपर्छ,” उनले भने।

ओलीले युवा संघको काँधमा ठूलो जिम्मेवारी रहेको भन्दै स्थानीय तहको चुनावसम्म स्पष्ट रणनीति बनाउन निर्देशन दिए। उनले भने, “संघले नयाँ इतिहास लेख्नुपर्छ। यो एमालेप्रति समर्पित, स्पष्ट विचार बोकेको र शक्तिशाली संगठनको रूपमा स्थापित हुनुपर्छ।”

उनका अनुसार अहिले सामाजिक न्याय, राष्ट्रिय स्वार्थको रक्षा, सुशासन र वैज्ञानिक सोचप्रति प्रतिबद्ध भएर काम गर्नुपर्ने बेला हो। ओलीले विपक्षीहरूले चलाएको भ्रमको जवाफ दिन पनि युवाहरू तयार रहनुपर्ने बताए।

“युवाहरू सही बाटोमा लागे भने देश सही दिशातिर अघि बढ्छ,” उनले भने, “तर उनीहरूलाई गलत बाटोमा डोर्याइयो भने परिवर्तनको गति नै रोकिन्छ।”

पार्टीको नेतृत्वबारे कुरा गर्दै उनले सही नेतृत्व पाएपछि पार्टी अगाडि बढ्ने तर गलत नेतृत्वले आन्दोलन बिगार्ने बताए। उनले भने, “जबज पारित भयो, तर सही नेतृत्व नहुँदा पार्टी दिशाहीन भयो। पछि ठीक नेतृत्व आउँदा मात्र पार्टी बलियो बन्यो।”

ओलीले अहिलेको एमाले एकताबद्ध रूपमा अघि बढिरहेको बताए। “युवाहरूले अब नारा मात्र होइन, दक्षता र अनुभव पनि बोक्नुपर्छ,” उनले भने।

अन्त्यमा उनले भने, “घमण्डले व्यक्ति बिगार्छ। हाम्रा युवाहरू विनम्र, बलवान र न्यायप्रति प्रतिबद्ध हुनेछन्। कसैले गालामा हान्यो भने ‘ओम शान्ति’ भन्दै चुप लाग्ने होइन। जवाफ दिन सक्ने विवेक पनि हुनुपर्छ।”

Leave a Reply

You may also like

Our Company

Nepal Pulse Sanchar Pvt.Ltd.

Newsletter

Subscribe our newsletter for latest world news. Let's stay updated!

Laest News

@2025 Nepal Pulse- All Right Reserved  .