काठमाडौं । रूसको सुदूरपूर्वी क्षेत्र कामचटका ८.७ म्याग्निच्युडको महाभूकम्पले थरथराएको छ। यो सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मानिएको छ। यसको प्रभाव केवल रूसमा सीमित रहेन, जापानदेखि अमेरिकासम्मका तटीय क्षेत्रहरूमा पनि सुनामीको चेतावनी जारी गरिएको छ।
भूकम्पपछि सुनामीको प्रहार निरन्तर
कामचटका एलिजोभस्की जिल्लामा चार मिटर अग्लो सुनामी छाल देखिएको छ। त्यसपछि सेभेरो-कुरिलस्कमा ७.९ म्याग्निच्युडको अर्को ठूलो भूकम्प गएको छ। भूकम्पपछि कुरिल टापुमा तीनवटा विशाल सुनामी छालहरू आएका छन्, जसले तटीय बस्तीहरू डुबानमा पारेका छन्।
सुनामीको सबैभन्दा शक्तिशाली तेस्रो छाल भएको बताइएको छ। सखालिन ओब्लास्टका गभर्नर भ्यालेरी लिमारेन्कोका अनुसार विद्युत् र पानी आपूर्ति सञ्जालमा क्षति पुगेको छ। सम्पूर्ण क्षेत्रलाई आपतकालीन क्षेत्रमा परिणत गरिएको छ।
“हामीले सम्पूर्ण बिजुली बन्द गरेका छौं। शहरमा फेरि प्रवेश आपतकालीन सेवा मन्त्रालयको आदेशपछि मात्र सम्भव हुनेछ,” गभर्नर लिमारेन्को भनाई उदृत गर्दै Lenta.ru ले समाचार लेखेकाे छ ।
ड्रोनबाट त्रासदीका दृश्यहरू सार्वजनिक
ड्रोन फुटेजमा सेभेरो-कुरिलस्कको तटीय इलाका जलमग्न देखिएको छ। एउटा माछा प्रशोधन प्लान्ट पूरै डुबानमा परेको छ। यसैबीच जापानको समुद्री किनारमा ह्वेलहरू बगाएर ल्याएको भन्दै स्थानीय सञ्चारमाध्यमहरूले त्रासपूर्ण दृश्यहरू प्रसारण गरेका छन्।
२,७०० मानिस विस्थापित, शिविर बगायो, सैनिक विमान परिचालन
भूकम्प र सुनामीका कारण हालसम्म करिब २,७०० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको रूसी प्रशासनले जानकारी दिएको छ। कुरिल टापु नजिकै रहेको रूसी भौगोलिक समाजको अनुसन्धान शिविर पनि बगाएको छ। शिविरमा रहेका सबै मानिस सकुशल बाहिरिएकाे रूसी सञ्चारमाध्यमहरूले जनाएका छन्।
जापानले प्रशान्त क्षेत्रमा लडाकु विमान, गस्ती विमान र हेलिकप्टरहरू परिचालन गर्दै सुनामी निगरानी कडाई गरेको छ। अमेरिका, हवाई, चिली, इक्वेडर, पेरु, मेक्सिको र चीनमा पनि सुनामीको चेतावनी दिइएको छ।
कामचट्काको अस्पतालमा डाक्टरहरूको साहस — शल्यक्रिया रोकिएन
भूकम्पको झट्का आउँदा कामचट्काको एउटा अस्पतालमा शल्यक्रिया जारी रहेको थियो। क्यामेराले कैद गरेका दृश्यहरूमा यन्त्रहरू हल्लिए पनि डाक्टरहरू विचलित नभएको देखाइएको छ । बिरामीको जीवन बचाउन कार्य जारी राखेकाले कामचटका गभर्नर भ्लादिमिर सोलोडोभले ती निडर चिकित्सकहरूलाई राज्य पुरस्कार दिने घोषणा गरेका छन्। “जसरी डाक्टरहरूले संकटका बीच काम गरे, त्यो उच्चतम प्रशंसा योग्य छ,” गभर्नर सोलोडोभले भने ।
बढ्दो परकम्प, जनसुरक्षाका लागि सेवा समन्वय
विज्ञहरूका अनुसार परकम्पहरू एक महिनासम्म निरन्तर महसुस हुने सम्भावना छ। केही स्थानमा भवन भत्किएको, विमानस्थलको छत खसेको, भित्तामा चिरा परेको, अपार्टमेन्टहरूमा फर्निचर खसेको समाचारहरूमा जनाइएकाे छ।
क्षेत्रीय कार्यालयहरू बन्द गरिएका छन् र सुरक्षा सुनिश्चित गर्न संलग्न सबै सेवा निकायहरूबीच समन्वय गरिएको छ।