काठमाडौं- सरकार र नेपाल उद्योग वाणिज्य महासंघले सुझाएको मध्यमार्गलाई स्वीकार गर्दै रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणलाई विवादित डेडिकेटेड ट्रंकलाइन महसुलको धरौटी रकम बुझाएको छ।
कम्पनीले बिहीबार २ करोड ७५ लाख रुपैयाँ धरौटीबापत जम्मा गरेको जनाएको छ। कम्पनीले धरौटीसहित प्राधिकरणलाई पठाएको पत्रमा यसअघि प्रशासकीय पुनरावलोकन दर्ता गर्दा विवादित रकमको ५ प्रतिशत बराबरको बैंक जमानत बुझाइसकेको उल्लेख गर्दै थप धरौटी रकम बाध्यात्मक परिस्थितिमा बुझाएको भनेको छ।
रिलायन्सले २०७२ माघदेखि २०७५ बैशाखसम्मको अवधि विवादित रहेको भन्दै आफूले निरन्तर र निर्वाध विद्युत आपूर्ति पाएको र लोडसेडिङ अन्तर्गत मात्र रहेको कारणले बक्यौता बुझाउन कुनै दायित्व नभएको दाबी गर्दै जेठ २६ गते प्राधिकरणको प्रशासकीय पुनरावलोकन समितिसमक्ष निवेदन दिएको थियो।